काठमाडौँ, मङ्सिर ३ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा शुक्रबार प्रदेश तहको अधिवेशन हुँदैछ । देशभरका तीन सयभन्दा बढी प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ अधिवेशन गर्ने काँग्रेसको कार्यतालिका छ । कुल ३३० प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले देशभर अधिवेशनका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिनुभयो । निर्वाचनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन समितिले जनाएको छ । प्राविधिक कारणवश कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पनि मङ्सिर ४ वा ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ । मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुँदैछ ।





