भक्तपुर: भक्तपुरको मध्यपुरथिमि नगरपालिकाबाट ‘नेपाल मास्क कार्यक्रम’ अभियान सुरु गरिएको हो ।
‘मास्क लगाऔँ, एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ देशव्यापी अभियान सुरु भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
सबैसँग मास्क भए पनि कसैको हातमा, कसैले चिउँडोमा र कसैले खल्तीमा राखेर हिँड्ने गरेकाले प्रभावकारी नहुँदा सङ्क्रमण जोखिम बढेको भन्दै अभियानका क्रममा मास्क वितरण र लगाउनेबारे सहित जानकारी दिइनेछ ।
ललितपुरको पाटन दरबार क्षेत्र र सार्वजनिक क्षेत्रमा ‘नो मास्क नो इन्ट्री अभियान’ चलाईदै छ ।
सबै नागरिकले खोप प्राप्त नगर्दासम्म मास्क अभियानले कोरोना सङ्क्रमण कमी हुने बताइएको छ ।
अभियान सुरु भएको थिमिमा २० पटकसम्म धोएर पुनः प्रयोग गर्न मिल्ने बङ्गलादेशबाट उपलब्ध पाँच लाख मास्क वितरण गर्न थालिएको छ ।
त्यसका लागि १५ जना स्वयंसेवकले घरघरमा पुगेर मास्क वितरण गर्दैछन् ।
स्वयंसेवकले एउटा घरमा तीन जना वा कम सदस्य भए २५ वटा मास्क र तीन जनाभन्दा बढी सदस्य भए एक प्याकेट अर्थात ५० वटा मास्क निःशुल्क वितरण गर्नेछन् ।





