पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।
२०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घटना उल्लेख गर्दै मन्त्री यादवले गत माघ ५ गते गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएपछि उनको व्यापक आलोचना भइरहेको छ ।
आपराधिक दुरुत्साहन सम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ । जाहेरी पत्रमा भनिएको छ वर्तमान परिप्रेक्ष्यमा सिके राउतको जनमत पार्टीले मधेश प्रदेशमा किसानको मुद्दाहरु उठाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।
यस आन्दोलनको क्रममा उग्र गतिविधिहरु समेत देखाउँदै आइरहेका छन् । यस्तो सन्दर्भमा बहालवाला मन्त्री जस्तो जिम्मेवार व्यक्तिको दुरुत्साहन पूर्ण अभिव्यक्तिले समाजमा शान्ति सुरक्षा बनाई राख्न चुनौति थप्छ । तसर्थ, निज अन्यायीलाई हदैसम्मको सजाय गर्नु पर्ने देखिन्छ ।
मन्त्रीको उक्त अभिव्यक्तिले मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को कसूर गर्न दुरुत्साहन दिने र द्वन्द्व फैलाउने जाहेरीमा उल्लेख गरिएको छ । पत्रमा कानुनअनुसार हदैसम्मकोे कारबाहीको माग समेत गरिएको छ । यसअघि नेपाली काँग्रेसका नेता रंजित कर्णले पनि प्रहरीमा जाहेरी दिएका थिए ।





