काठमाडौं: नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार र आगामी सोमबार घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।
अर्को वर्ष भारतमा हुने एएफसी महिला एशियन कपको छनोट खेल खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
दशरथ रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो । यसअघि महिला टिमले सन् २०१६ डिसेम्बरमा मलेसियासँग भएको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो ।
नेपालले बंगलादेशसँग पनि पहिलो पटक मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
झण्डै साढे तीन दशक लामो अन्तर्राष्ट्रिय इतिहास रहेको महिला फुटबल टिमले मलेसिया, कतार र कुवेतसँग मात्र मैत्रीपूर्ण खेल खेलेको छ ।
बंगलादेशसँगको पहिलो खेल बिहीबार साँझ ५:३० बजे दशरथ रंगशालमा सुरु हुनेछ । उज्वेकिस्तानमा हुने एशियन कप छनोटका लागि बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबलले सहयोग गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
समूह एफमा रहेको नेपालले असोज २ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्नेछ ।
तीन टोली मात्र रहेको यस समूहको विजेता टिम भारतमा हुने एशियन कपका लागि छनोट हुनेछ । बंगलादेश भने समूह जीमा छ ।





