काठमाडौँ: नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई अवसरवादीको संज्ञा दिएका छन्।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४३ औँ स्मृति दिवसलाई बिहीबार ललितपुरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘अब लोकतान्त्रिक आन्दोलनलाई समाजवादसम्म पुर्याउन कम्युनिष्ट पार्टीलाई नयाँ ढंगले स्थापित गर्न आवश्यक छ। लोकतान्त्रिक आन्दोलनमा गतिरोध पैदा भएको छ। निर्दलीय सरकार खडा भएको छ’, उनले भने, ‘लोकतान्त्रिक आन्दोलनमा देखिएको गतिरोध अब टुंग्याउनु पर्छ। लोकतन्त्र स्थापित गर्न हामीले काम गर्नुपर्छ। यो संकल्प नै पुष्पलालप्रतिको श्रद्धाञ्जली हुनेछ।’
उनले यहाँसम्म आउँदा कम्युनिष्ट पार्टी विभाजित भएको बताए। ‘अहिले प्रतिगामीहरु विभाजित गर्न सफल भएका छन्। हामीले पनि पार्टी पुन:निर्माण थाल्नुपर्छ।
पार्टी विभाजित भएको छ एकातिरबाट’, उनले भने, ‘तर यसलाई हामीले अर्कोतिरबाट हेर्दा शुद्धीकरण भएको छ। अवसरवादीहरु बाहिरिएका छन्। पार्टी पुनःनिर्माण र शुद्धीकरणले अब गति लिन्छ। पार्टीभित्रका दक्षिणपन्थी अवसरवादीहरु प्रतिक्रियावादी भएका छन्।’





