काठमाडौं: दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्नेगरी नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ ।
यो बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ ।
तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने जनाएको छ ।
‘एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्दछ । आयोजक कमिटीको कुनै वैधता छैन’ माधव नेपाल निकट नेता गोकर्ण विष्ट भन्छन् ।
वैधता नरहेको कमिटीको बैठकबारे थप प्रतिक्रियाको आवश्यकता नरहेको पनि उनले बताए ।
गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।
तर आजको बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने तयारी छ ।





