काठमाडौँ, मंसीर १ गते । इन्दु वर्माको कीर्तिमान अर्धशतकीय पालिको सहयोगमा नेपालले मङ्गलबार पहिलो टि२० खेलमा घरेलु टिम कतारलाई ११९ रन ले नराम्ररी हराएको छ । यस जितसँगै तीन खेलको शृङ्खलामा नेपालले १–० ले अग्रता बनायो ।
दोहामा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १४६ रनको कठिन स्कोर तयार पारेको थियो । कतार जवाफमा ११.५ ओभरमा २७ रनमा समेटियो । कप्तान रुविना क्षेत्रीले मात्र एक रनमा तीन विकेट तथा कविता कुँवरले छ रनमा र सीता राना मगरले तीन रन खर्चेर दुई/दुई विकेट लिए । करुणा भण्डारीले पनि दुई ओभरमा दुई रन मात्र खर्चेर एक ब्याटरलाई आउट गरिन् । कतारका लागि खाडिया इम्तियाज र एन्जेलिन मारेले बनाएको आठ÷आठ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।





