प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीका लागि केही दिन पर्खिने रणनीति बनाएका छन् । एमालेमा माधव नेपाल र जसपामा उपेन्द्र यादव समूह परिस्थिति हेरेर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने काँग्रेस नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री बनाउन राजनीति र न्यायिक लडाइमा साथ दिएका नेपाल र यादव पक्षलाई साथमै लिएर जाने देउवाको तयारी छ । विश्वासको मत सिद्ध गर्न पनि देउवालाई नेपाल र यादव पक्षको साथ अनिवार्य छ ।
अन्तिमसम्म एमालेका २३ र जसपाका १२ जना सांसदको साथ पाएपछि सर्वोच्च अदालतको परमादेशबाट मंगलबार देउवा प्रधानमन्त्री बनेका छन् । मंगलबार देउवाले काँग्रेस र माओवादीबाट दुई/दुई जनालाई मात्र समावेश गरेर मन्त्रिमण्डल गठन गरेका छन् ।
नेपाल र यादव समूहको पर्खाइमा विपक्षी गठबन्धनको शीर्ष तहमा मन्त्रालयको भागबण्डा पनि हुन सकेको छैन । यद्यपि नेपाल समूह एमालेमै रहने परिस्थितिमा काँग्रेसले ५० प्रतिशत मन्त्रालय आफूसँगै राख्ने रणनीति बनाएको छ ।
माओवादी केन्द्रलाई ३० प्रतिशत र जसपाको यादव पक्षलाई २० प्रतिशत मन्त्रालय दिने प्रधानमन्त्री देउवाले तयारी गरेको बूढानीलकण्ठ स्रोतले जनाएको छ । यद्यपि जसपामा यादव पक्षले ठाकुर पक्षका सांसद तान्न सकेको खण्डमा काँग्रेसले केही मन्त्रालय दिन उदारता देखाउने स्रोतको भनाइ छ ।





