मौरिससको फुटबल टिम नेपालसँगको मैत्रीपूर्ण खेलका लागि काठमाडौं आइपुगेको छ। सोमबार नेपाल आइपुगेको टोलीलाई एन्फा पधाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। जसअनुसार नेपालले २९ जनवरीमा पहिलो खेल खेल्दा अर्को खेल १ फेब्रुअरीमा खेल्नेछ। माैरिसस फिफा वरीयतामा १ सय ७२औं स्थानमा रहेको छ।
पाँच दिनअगाडि नै नेपाल आइपुगेको टिम काठमाडौंको भिभान्ता होटेलमा बस्नेछ। अब टोलीको कोरोना परीक्षण गरिनेछ र त्यसपछि प्रशिक्षणमा टोली लाग्ने एन्फाले जनाएको छ। मैत्रीपूर्ण खेलका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो।
नेपाली राष्ट्रिय टिमले पहिलो पटक अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो।त्यसपछि दशरथ रंगशालामा हुन लागेको यो दोस्रो मैत्रीपूर्ण खेल हो। उनीहरूले नेपाल उत्रिँदै गर्दा पहिलो अनुभव भएकाले खेल टफ हुने बताए।





