काठमाडौं: बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पुर्ख्याैली बिरासतको आधारमा नभई योगदानको आधारमा नेतृत्व चयन हुनुपर्ने भएकाले सभापतिमा देउवाको विकल्प नभएको बताएका हुन् ।
महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जोकोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताए ।
वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको भन्दै उनले योग्य र सक्षम उम्मेदवार आकांक्षीका रूपमा अघि आउन सक्ने बताए ।
विधानले दोस्राे पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उनले पुर्खाको योगदान वा पुर्ख्याैली बिरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबैलाई आग्रह गरे ।
पार्टीभित्रका तीन पुत्र नेताहरूको भेटघाटलाई लक्षित गर्दै उनले पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्ने दाबी गरे ।





