राप्रपाको पछिल्लो समय देखापरेको विवाद समाधानका लागि पदाधिकारी बैठक आज काठमाडौँमा बोलाइएको छ।
धूमबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने नेता सुन्दर पाण्डेले जानकारी दिए।
पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन्। गत मङ्सिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको, निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानबिन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरेका थिए।





