काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षाले अनुसन्धानमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति तथा पदाधिकारीसँगको भेटका अवसरमा राष्ट्रपतिलेसमयको यस रूपान्तरणकारी गतिलाई पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्न सक्ने जनशक्ति हामीले कति उत्पादन गर्न सक्यौँ भन्ने कुराले हाम्रा सफलता वा असफलताको मापन गर्ने उल्लेख गर्नुभयो ।
प्रकृति र संस्कृतिले सम्पन्न नेपाल भूमिले ज्ञान उत्पादनमा उल्लेख्य योगदान पुर्याउँदै आएको तथ्य पेश गर्दै राष्ट्रपतिले भन्नुभयो, “जनक सभ्यताबाट उपनिषद्हरूको जन्म भयो । शान्तिका अग्रदूत बुद्धले विश्व शान्तिको सन्देश यहीँबाट फैलाए । इतिहास, गणित र पुरातत्वमा विश्वस्तरीय योगदान गर्ने विद्वान विदूषिहरू यही भूमिले जन्माएको छ ।”
उहाँले इतिहास र सभ्यताको यस बिरासतबाट प्रेरणा लिँदै हाम्रा विश्वविद्यालयले आफूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले आर्थिक उन्नतिका दृष्टिले दुई उदयमान छिमेकी देशहको बीचमा नेपाल अवस्थित रहेको हुनाले हामीले उत्पादन गर्ने जनशक्ति पनि यी छिमेकीसँगसँगै अगाडि बढ्ने किसिमको हुनु जरुरी देखिन्छ भन्नुभयो ।
राष्ट्रपतिले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई पलायन हुनबाट रोकेर उनीहरूले आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमै सदुपयोग गर्न उपयुक्त वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।





