काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका पाँच दलीय गठबन्धनलाई फ्रिजबाट झिकेको आइसजस्तै भएको टिप्पणी गरेको छन्।
नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो जनताबाट निर्वाचित भएको आएको सरकार होइन। हाम्रो देशकै सबैभन्दा ठूलो पार्टी हाम्रो हो। हामीले संविधान निर्माण र कार्यन्वयनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।’
पाँच दलीय गठबन्धनमा सामेल भएका दलहरू एमालेसँगै डराएर चुनाव भनेपछि तर्सिने गरेको तर्क गरे। एमालेबाट विद्रोह गरेका माधव नेपाल नेतृत्वको पार्टी अवैध भएको आरोप लगाए।
ओलीले भने, ‘सरकारमा ५ पार्टी भनिएको छ। न जनादेश छ वैधता। अवैध ढंगले निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोग र सभामुख तमासा गर्छ। यो सरकार स्वाभाविक ढंगले आएको होइन। यो सरकार असंवैधानिक ढंगबाट आएको छ।’
परमादेशबाट प्रधानमन्त्री छानिएको भएकाले जनताप्रति उत्तरदायी नभएको आरोप लगाए।
‘चुनाव भनेपछि यीनीहरुको सातो जान्छ। प्रतिगमन भनेर कराएको सुन्नुभयो होला नि। अब विस्तारै चुनाव आउँदैछ। के अब देश प्रतिगमनमै जान लागेको हो त? चुनाव भनेको प्रतिगमन नै हो त?’ ओलीले प्रश्न गर्दै सोधे।
उनले अबको १४ महिनामा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर १५ महिनामा एमाले नेतृत्वको सरकार बन्ने दाबी गरे।
ओलीले व्यङ्ग्यात्मक शैलीमा भने, ‘यिनीहरू भनेको फ्रिजमा बनाइएको आइस डल्ला हुन्। यी डल्ला बाहिर राखेपछि आफैं पग्लिएर बिलाएर जान्छ।’
देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको जिकिर गरे। आफ्नो नेता कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘सरकार जसको जस्तोसुकै होस्। तर, तपाईहरुले आफ्नो जिम्मेवारी नभुल्नुहोस्। हामी राष्ट्रसेवक हौँ। त्यही हैसियतले तपाईहरूले जनताको कामप्रति प्रतिबद्ध भएर लाग्नुहोस्।’
कार्यक्रममा अध्यक्ष ओलीले एमाले स्वछताको प्रतीकको भएकाले भ्रष्टाचारको विरोध गर्नुपर्ने बताउन बिर्सेनन्। उनले भने, ‘मैले प्रधानमन्त्री हुँदा म पनि भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्नँ भन्ने नीति अघि सारेको थिएँ। आज देखिँदैछ। सोझै सेटिङ चल्दैछ कसलाई भन्सार छुट दिने नदिने भन्ने बिषयमा अरवौँको खेल भइसक्यो।’ भ्रष्टाचार नगर्ने नीति अघि सार्दा भ्रष्टाचार गर्नेहरूमाथि ढ्याङ्ग्रो ठोकेको तर्क गरे।





