रु रु जलविद्युत परियोजना लिमिटेडको १९ औं वार्षिक साधारण सभा कार्तिक ११ गते लिसारा ब्याङ्केट, नक्साल काठमाडौंमा एक समारोह बिच सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता परियोजनाका अध्यक्ष आशिस सुवेदीले गरेका थिए । कार्यक्रममा सञ्चालकहरु चन्द्र बहादुर पुन, सागर पाठक, सरिता शाक्य प्रधान, दिल बहादुर श्रेष्ठ, गरिमा अधिकारी, गोविन्द चालिसे, किशोर प्रसाद घिमिरे, विष्णु प्रसाद पाण्डे समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा सरिता शाक्य प्रधानले सम्पूणर् आगन्तुकहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिइन ।
यस कम्पनीको साधारण सभामा अध्यक्ष आशिस सुवेदीले अध्यक्षको मन्तव्य प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०८०/०८१ को अवधिमा भएका मुख्य-मुख्य आर्थिक उपलब्धीहरुको बारे प्रकाश पारेका थिए । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा समेत सुवेदीले गरे । बोनस सेयरको कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्ने समेतको निणर्य अध्यक्षले सुनाए । जसलाई सम्पूणर् शेयर महानुभावहरुले अनुमोदन गरे । लेखा परीक्षण समितिका संयोजक तथा संचालक सागर पाठकले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शेयर धनी महानुभावहरु शत्रुघन श्रेष्ठ, वैजुनाथ रौनियार, निरुपना गुप्ता, गोबिन्द केसी लगायतले कम्पनीलाई सुझाव सल्लाह दिएका थिए । शेयर धनी शत्रुघन श्रेष्ठले १५ प्रतिशत बोनस शेयर दिने घोषणाको प्रशंसा गरेका थिए । उनले भने अहिलेको जटिल परिस्थितिमा कुनै पनि जलविद्युत परियोजनाले यति ठूलो प्रतिशतमा लाभांस वितरण गर्न नसकिरहेको अवस्थामा हाम्रो कम्पनीले गर्यो । यसले सबै शेयरधनीलाई रक्तसञ्चार गराएको छ । कम्पनीको अरु उन्नती प्रगति हुँदै जाओस् भनी शुभकामना दिएका थिए । कार्यक्रममा पूर्व अध्यक्ष भरत प्रसाद नेपाल र पूर्व सञ्चालक गरिमा अधिकारीलाई कम्पनीका अध्यक्ष आशिस सुवेदीले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम निकै भव्य र सभ्य भएको थियो । कार्यक्रम सञ्चालन कम्पनी सचिव किशोर प्रसाद घिमिरेले गरेका थिए ।






