अन्तर्राष्ट्रिय महिला दिवस मनाउन अभिनेत्री मनिषा कोइराला सगरमाथा आधार शिविरको कालापत्थरतर्फ प्रस्थान गरेकी छन् । त्यहाँबाट उनले जलवायु परिवर्तन र महिला हिंसाविरुद्ध सम्बोधन गर्ने कार्यक्रम छ ।
अधिकारकर्मी बन्दना राणासँगै सोमबार बिहान लुक्ला पुगेकी मनिषा कालापत्थर पुग्ने जनाइएको छ । ‘साथसाथै’ अभियानले कालापत्थरमा आयोजना गरेको अभियानमा भाग लिन मनिषासहित ४० जनाको महिला टोली कालापत्थर हिंडेको हो ।
संसारकै उच्च स्थानबाट जलवायु परिवर्तनले महिलामा पार्ने असर, महिला हिंसाविरुद्ध र सबै संयन्त्रमा महिला सहभागिताको सन्देश दिन मनिषाले सम्बोधन गर्ने कार्यक्रम छ ।
कालापत्थरबाट फर्किएपछि मुम्बई प्रस्थान गर्ने तयारीमा रहेकी मनिषा नेटफ्ल्क्सिको लागि सञ्जय लीला भन्सालीले निर्देशन गर्न लागेको फिल्म ‘हीरामण्डी’मा काम गर्न गइरहेकी छन् ।





