जयराम बिडारी
काठमाण्डौ। बौद्ध धर्ममा प्रसिद्ध भिक्षुणी धम्मवती गुरुमांलाई २०८१ वैशाख १५ गते सम्यक् अभिनन्दन गरिने भएको छ । ‘सम्यक् कर्मको अनुशीलन जीवनकालमै सम्मान’ भन्ने नारासहित समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक् सन्देशले उहाँलाई वैशाखमा अभिनन्दन गर्न लागेको हो ।
वि. सं. २००६ सालमा गृहत्याग गर्नुभएकी धम्मवती गुरुमां बर्मेली भिक्षु ऊ. चन्द्रमणी महास्थविरको उपाध्यायत्वमा वि. सं. २०१० साल कार्तिक १० गते भारतको कुशीनगरमा प्रवर्जित हुनुभएको थियो । बौद्ध शिक्षा अध्ययनको सिलसिलामा करिब २० वर्ष म्यानमार बसेर वि. सं. २०२० सालमा उहाँ नेपाल फर्किनुभएको थियो । नेपाल फर्किएपछि निरन्तर बुद्ध शिक्षा प्रचारमा सक्रिय गुरुमांले थेरवादी बुद्ध धर्मको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
करिब आठ दशकदेखि बुद्ध धर्मको प्रचारमा सक्रिय गुरुमां धर्मकीर्ति विहार, धर्मोदय सभा, शाक्यधिता अन्तर्राष्ट्रिय भिक्षुणी संघ, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, बौद्ध वृद्धाश्रम, लुम्बिनी बौद्ध विश्वविद्यालयजस्ता दर्जनौं संघसंस्थामा आवद्ध हुनुहुन्छ । धर्मकीर्ति बौद्ध पत्रिकाको संस्थापकसमेत रहनुभएकी गुरुमांले बौद्ध साहित्यको विकासमा उल्लेखनीय योगदान दिनुभएको छ । उहाँका नेपाल र नेपाली भाषाका पाँच दर्जनभन्दा बढी पुस्तकाकार कृतिहरु प्रकाशित भएका छन् ।
उहाँको ९१ औँ वसन्तपूजन तथा बुद्ध शासनमा प्रवर्जित भएको ७६ औं वर्षप्रवेशको अवसर पारेर अभिनन्दन गर्न लागिएको कार्यक्रममा धम्मवती गुरुमांको योगदानलाई देशदेशान्तरमा फैलाउन योगदान गर्ने पैतिसभन्दा बढी व्यक्तिहरुलाई धम्मवती गौरव पदकसहित सम्मान गरिने सम्यक सन्देशका सल्लाहकार एवं अभिनन्दन समारोह समितिका संयोजक श्यामलाल चित्रकारले बताए ।





