बाल अधिकार परिषद् छुट्टै निकाय भएको भन्दै मन्त्री चौधरीले यसभित्र भएको बालगृह बाल सरोकारसँग सम्बन्धित काम गर्ने विभागहरूको कार्य विभाजन र त्यसका गतिविधि चुस्त राख्न समेत निर्देशन दिनुभयो । कार्य योजना बनाएर अगाडि बढेमा बाल अधिकार तथा बालबालिकाका समस्याका विषयमा तत्काल काम गर्न सकिने भन्दै उहाँले निश्चित कार्य योजना बनाएर अगाडि बढ्न समेत निर्देशन दिनुभयो ‘राज्यले बालबालिका क्षेत्रमा ध्यान दिएको छ र यस क्षेत्रमा काम गर्नेहरूलाई हेरिरहेको छ भनेर महसुस गर्नेगरी काम गर्नुस्’, उहाँले भन्नुभयो, ‘विशेष गरेर बाल अधिकार र बालबालिकाले पाउने सेवा सुविधाको अवस्था के छ ? ’बाल सुधार गृहहरूको सन्दर्भमा सांसदहरूले प्रश्न उठाएको भन्दै उहाँले त्यहाँभित्र १८ वर्ष कटेका व्यक्तिहरू समेत रहेको कुरा आएको भन्दै त्यसको व्यवस्थापनका सन्दर्भमा थप काम गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यहाँभित्र पनि यौनजन्य हिंसाका समस्या, स्वास्थ्य, शिक्षाजस्ता विषयहरू आएको भन्दै यस्ता संवेदनशील विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो । तीन वटै तहको सरकारलाई बालबालिका तथा ज्येष्ठ नागरिकका सन्दर्भमा कसरी जिम्मेवार बनाउने ? भन्ने सन्दर्भमा आवश्यक व्यवस्था गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो । त्यस अवसरमा परिषद्का उपाध्यक्ष बमबहादुर बानिया, सदस्य सचिव इन्द्रदेवी ढकाल र सूचना अधिकारी रामबहादुर चन्दले परिषद्ले गरेका कामकार्बाही र योजनाका विषयमा जानकारी दिनुभएको थियो ।





