गोरखा जिल्ला कुसुन्डे स्थायी बसोवास भएका दिवङ्गत टीकाराम अधिकारीको प्रथम पुण्य तिथिको अवसरमा ‘समाजसेवी टीकाराम अधिकारी स्मृति पुस्तिका’ लोकार्पण गरिएको छ ।
प्रमुख अतिथिको आसनबाट राष्ट्रिय सभा सदस्य माननीय कमला पन्तले आफूले लामो समयसम्म दिवङ्गत टीकाराम अधिकारीसँग सहकार्य गरेको स्मरण गरिन् । स्मृतिग्रन्थको सिङ्गो सम्पादक टिमलाई बधाई ज्ञापन गर्दै यसैका आधारमा आगामी दिनमा उहाँका आदर्श र उहाँले गरेका सत्कर्मबारे उजागर गर्नुपर्ने अभिभारा लिन आग्रह गरिन् ।
विशेष अतिथि राष्ट्रिय सभा सदस्य माननीय किरणबाबु श्रेष्ठले टीकाराम अधिकारीलाई आफूले राजनीतिक पाटोबाट चिन्ने बताउँदै संस्थालाई दिगो राख्न कठिन हुने बताउँदै सच्चा काँग्रेसको चरित्र बोकेका टीकाराम अधिकारीको स्मृति प्रतिष्ठानलाई दिगो राख्न आग्रह गरे ।
पुस्तिकाको प्रा.डा. दण्डपाणी अधिकारीले रौँचिरा शल्यक्रिया तथा आद्योपान्त टिप्पणी गरे । हरेक पृष्ठबारे आफ्ना निजी विचार प्रस्तुत गर्दै उनले विशद मन्थन गरे ।
प्रा.डा. सीताराम अधिकारीले पुस्तान्तरणले निम्त्याएको पीडा र पाश्चात्य संस्कृतिले विघटन गर्दै गरेको सामाजिक सम्बन्धबारे साङ्गोपाङ्ग विश्लेषण गरे । बहुआयामिक व्यक्तित्व टीकारामबारे आफ्नो राय राख्दै उनले भाषिक विचलनबारे सतही ज्ञान भएकाले कतिपय छन्द भङ्ग हुनसक्ने अनुमान लगाए ।
नाताले भतिज तथा पुस्तिकाका प्रधान सम्पादक यमनाथ अधिकारीले आफ्ना काकालाई शब्दगुच्छाद्वारा सम्झिए र उपस्थित अभ्यागतहरूप्रति कृतज्ञता ज्ञापन गरे ।
टीकाराम अधिकारीका ज्येष्ठ सुपुत्र तथा टीकाराम अधिकारी स्मृति प्रतिष्ठानका सचिव शम्भुप्रसाद अधिकारीले बुबा टीकाराम अधिकारीले राजनीतिलाई आदर्श मानेर गरेको समाज सेवालाई उत्खनन गर्ने नै प्रतिष्ठानको अभीष्ट भएको सादर अवगत गराए ।
स्वर्णिम स्कुलका प्राचार्य सहदेव पन्तले टीकाराम असल, विनम्र र मृदुभाषी समाजसेवी र आदर्श व्यक्तित्व भएको बताए ।
दिवङ्गत टीकाराम अधिकारीका अनन्य मित्र शुकदेव शर्मा दवाडीले उहाँ ठुलो मान्छे बन्नुभन्दा असल मान्छे बन्न रुचाउने भद्र व्यक्तित्व तथा कुशल सङ्गठक भएको दाबी गरे ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलपति प्रा. शिवहरि मरहट्टाले टीकारामले जन्माएका थुप्रै नेताहरू आज राष्ट्रिय राजनीतिका चर्चित नेताहरू जन्माए पनि आफू भने सामान्य नागरिक रहन नै रूचाएको जिकिर गरे । मलामी जाँदा समेत मृतकको सद्गुणको सम्मान र अनुशरण गर्नु पर्ने उनको कथन थियो ।
दयानिधि दवाडी, गोविन्द गुरुङ लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य प्रकट गरे ।
दिवङ्गत टीकारामका माहिला सुपुत्र सुरेश अधिकारीले उपस्थित अतिथिहरूलाई धन्यवाद ज्ञापन गरे । प्रतिष्ठानका अध्यक्ष कालिका अधिकारीले अध्यक्षता गरेको उक्त कार्यक्रमको सहजीकरण ज्ञानेन्द्र दवाडीले गरेका थिए ।






