गत आर्थिक वर्ष ०८०/८१ मा ठूला जीवन बिमा कम्पनीहरूको खुद नाफा १५.१९ प्रतिशतले बढेको छ । गत आवमा १४ जीवन बिमा कम्पनीले पाँच अर्ब ७३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आव ०७९/० मा उनीहरूले चार अर्ब ९७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
जीवन बिमा कम्पनीको यो नाफा बिमांकीय मूल्यांकन हुनुभन्दाअघिको हो । जीवन बिमा कम्पनीको बिमांकीय मूल्यांकन गर्दा बिमा कोषको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सार्न सकिन्छ । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्नेछ ।
व्यवसायमा आएको शिथिलताका बाबजुद पनि बिमा कम्पनीहरूको नाफा बढेको देखिन्छ । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा वर्षमा जीवन बिमा कम्पनीहरूको व्यवसाय (बिमाशुल्क संकलन) १० प्रतिशतले बढेको छ । अघिल्लो आव ०७९/० मा कम्पनीहरूको बिमाशुल्क संकलन एक खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख थियो । गत आवमा त्यस्तो संकलन एक खर्ब ५६ अर्ब ३३ करोड १४ लाख भएको छ । व्यवसायमा १० प्रतिशतको वृद्धि देखिँदा नाफामा १५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।
विगतमा निक्षेपको ब्याजदर उच्च हुँदा पनि कम्पनीहरूलाई नाफा बढाउन सहज भएको देखिन्छ । कम्पनीहरूले आफ्नो लगानीयोग्य रकममा ७० प्रतिशतभन्दा बढी रकम निक्षेपमा राख्छन् । यसका अलावा चुक्ता पुँजी बढाउने उद्देश्यले केही कम्पनीहरू मर्ज भएका थिए । त्यसले गर्दा उनीहरूको खर्च कटौती भएको छ । कतिपय कम्पनीले पुँजी बढाउन सम्पत्ति तथा सेयर बिक्री गरेका छन्, त्यसकारण पनि नाफा बढ्न सहयोग पुगेको कम्पनीहरू बताउँछन् ।
१४ कम्पनीमा ११ वटाको नाफा बढेको छ । तर, सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत, मेट लाइफ इन्स्योरेन्सको ३४ र एलआइसी नेपालको ६८ प्रतिशतले नाफा घटेको देखिएको छ । गत आवमा हिमालयन लाइफ इन्स्योरेन्स नाफा कमाउने मामिलामा अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले ६३ करोड ३८ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ । यो अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ५२ करोड १२ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो । युनियन, गुराँस र प्राइम लाइफ गरी तीन कम्पनी मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ । बिग मर्जरका कारण पनि कम्पनीलाई धेरै नाफा कमाउन सहज भएको देखिन्छ ।
नाफा कमाउने मामिलामा दोस्रो नम्बरमा सन नेपाल लाइफ इन्स्योरेन्स देखिन्छ । उक्त कम्पनीले गत आवमा ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, कम्पनीको नाफा २७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ ।
तेस्रो स्थानमा भने आइएमई लाइफ इन्स्योरेन्स देखिएको छ । समीक्षा वर्षमा उक्त कम्पनीले ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा १४५ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २० करोड ९९ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा आइएमई लाइफसहित सूर्यज्योति लाइफ, महालक्ष्मी लाइफ, सिटिजन्स लाइफ र एलआइसी नेपालको नाफा उच्चदरमा बढेको छ । सूर्यज्योति लाइफको नाफा १४६ प्रतिशतले बढेर ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको नाफा १६ करोड ११ लाख ७३ हजार रुपैयाँ थियो ।
यस्तै, प्रभु महालक्ष्मी लाइफको नाफा पनि १०४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १७ करोड ९१ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवमा भने कम्पनीले ३६ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ ।
यसैगरी सिटिजन्स लाइफको नाफा २१७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले १० करोड २५ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवमा उक्त कम्पनीले ३२ करोड ४७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बिमा कम्पनीको नाफा पनि १४५ प्रतिशते बढेको छ । अघिल्लो आवमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवमा भने १५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, समीक्षा अवधिमा नेपाल लाइफले ५१ करोड ३९ लाख, मेट लाइफले ५० करोड ४१ लाख, रिलायबल नेपाल लाइफले ४२ करोड ६३ लाख, नेसनल लाइफले ४० करोड ६३ लाख, सानिमा रिलायन्स लाइफले ३५ करोड आठ लाख २४ हजार, एसियन लाइफले ३२ करोड ८५ लाख र एलआइसी नेपालले २३ करोड ८५ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ ।
लघु बिमाको नाफा ३.१० करोड
गत आवमा सात लघुबिमा कम्पनीले तीन करोड १० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अहिले नेपालमा तीन जीवन र चार निर्जीवन गरी सात लघुबिमा कम्पनी छन् । अघिल्लो आवमा उनीहरूले एक करोड ४७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएका थिए । यद्यपि, अघिल्लो आवमा चारवटा मात्रै लघुबिमा कम्पनी सञ्चालनमा थिए ।
गत आवमा तीन जीवन लघुबिमा कम्पनीले मात्रै एक करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । त्यसमा लिबर्टी माइक्रो लाइफ लाइफले ७६ लाख तीन हजार, क्रेस्ट माइक्रो लाइफले ४० लाख दुई हजार र गार्डियन माइक्रो लाइफले १४ लाख खुद नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा आवमा चार निर्जीवन लघुबिमा कम्पनीको नाफा भने एक करोड ८० लाख ३५ हजार रुपैयाँ देखिएको छ । त्यसमा ट्रस्ट माइक्रोले एक करोड नौ लाख ५१ हजार, नेपाल माइक्रोले २९ लाख ५४ हजार, प्रोटेक्टिभ माइक्रोले २३ लाख ४१ हजार र स्टार माइक्रोले १७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।साभार नयाँ पत्रिका।





