काठमाडौं । टिकटकले नेपालका लागि पब्लिक पोलिसी म्यानेजर (ग्लोबल पब्लिक पोलिसी) पदमा आवेदन माग गरेको छ । कम्पनीको दुबई कार्यालयले सो पदका लागि दरखास्त आह्वान गरेको हो ।
हालै मात्र नेपालमा महिनौं लामो प्रतिबन्ध पश्चात् पुनः सञ्चालनमा आएको टिकटकले आफ्नो प्रतिबद्धता अनुरूप नेपालका लागि कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको बुझ्न सकिन्छ । कति कति सङ्ख्यामा कर्मचारी भर्ना गर्न लागिएको भन्ने विषय चाहिं टिकटकले खुलाएको छैन ।
छोटो मोबाइल भिडिओ सामग्रीका लागि विश्वकै चर्चित एप टिकटकले रचनात्मकतालाई प्रेरित गर्नुका साथै मनोरञ्जनलाई आफ्नो मूल लक्ष्य बताउने गरेको छ ।
अमेरिकाको लस एन्जलस र सिङ्गापुरमा ग्लोबल हेडक्वार्टर रहेको यो कम्पनी अन्तर्गत न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोमा कार्यालयहरू रहेका छन् । जतिसुकै कठिन भए पनि प्रत्येक चुनौती आफ्ना लागि अवसर भएको बताउँदै टिकटकले कर्मचारीलाई सिकाई, नवीनता र टिमको रूपमा वृत्ति विकास जस्ता अवसर रहेको बताएको छ ।
टिकटकको सरकारसँगको सम्बन्ध र सार्वजनिक नीति टिम अन्तर्गत खुलाइएको यो पदमा रहने कर्मचारीमाथि सरकारी मामिला र सरकारसँगको सम्बन्धलाई लिएर जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । नीति तथा समस्यामा दक्खल भएको, जोखिम तथा सङ्कट व्यवस्थापन, आउटरिच, सहकार्य र साझेदारी जस्ता क्षेत्रमा सो पदमा रहने कर्मचारीले काम गर्नुपर्नेछ ।
मूलतः टिकटकको लागि विश्वास आर्जन तथा कायम राख्नुका साथै त्यसको व्यवस्थापन एवं टिकटकमाथिको राजनीतिक, कानुनी, नियामकीय चुनौती सामना गर्नुपर्ने जिम्मेवारी समेत निभाउनु पर्ने हुन्छ ।





