१.स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् ।
२ अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गरेका छन् ।
३.सरकारले आगामी बिहीबारदेखि काठमाडौं उपत्यकामा राति ८ बजेपछि अत्यावश्यकबाहेक सबै सवारी साधन चलाउन नपाइने निर्णय गरेको छ। विज्ञ भन्छन्- उपत्यकामा राति ८ बजेपछि सवारी चलाउन नपाइने सरकारको निर्णय अव्यवहारिक ।
४.उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ ।
५. लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको छ ।
६.सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकालीको तुइन काटिदिँदा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
७.विभिन्न मुलुकका कूटनीतिज्ञलाई बिरामी बनाएको भन्ने ‘हवाना सिन्ड्रोम’ को कारण के हो भन्ने बारे अमेरिका अझै अनिश्चित रहेको गुप्तचर प्रमुख अव्रिल हाइन्सले बताएकी छन् ।
८.अबको साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।
९.नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार नेप्से ५१ दशमलव ८६ अंकले बढेर ३१ सय ६१.४४ बिन्दुमा पुुगेको छ ।
१०. देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।





