काठमाडौं: बुधबार सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३ औं स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने ‘पद, पैसा, प्रतिष्ठा, गुट, अराजकतालाई नै प्रश्रय दिने र एमालेजस्तै हुने हो भने, हामी मार्क्सका चेला हौँ भने त, बरु योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिए हुन्छ ।’
बाहिर क्रान्ति भन्ने तर, भित्र प्रतिक्रान्ति गर्नु जनतालाई धोका दिनु भन्दै उनले पुनः बरु माओवादी विघटन गरे हुन्छ भने ।
सहिदहरुको त्याग र बलिदान नसम्झिने हो भने आत्मसर्मपण गरेर एमालेजस्तै हिँड्न पनि उनले सुझाए ।
पद, प्रतिष्ठा र गुट चाहिने हो भने एमालेमै जान पनि उनले सल्लाह दिए । उनले भने, ‘एमालेमै जाने, एमाले जस्तै हुने, गुट बनाउने, पैसा कमाउने, पद प्राप्त गर्ने, दलालहरुसँग साँठगाँठ गर्ने, तिनीहरुको स्वार्थ पूरा गर्दिने हो भने त एमाले हुन राम्रो नि ।’
तर, उनले एमाले र कांग्रेसजस्तो गर्न माओवादीले नसक्ने पनि बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘एमालेमा सबै खालको मिलेको छ । तिनीहरुको नेटवर्क छ, सेटिङ छ । हामी केही पनि नजान्ने भइयो । एमाले र कांग्रेससँग, त्यही बाटोमा, त्यही लाइनमा, त्यही चरित्र, त्यही विशेषतामा हामी धेरै साना पर्छौं, हामी धेरै कमजोर पर्छौं ।’
अध्यक्ष प्रचण्डले सबैलाई अब पार्टी किन चाहियो भन्ने बहस चलाउने दिन आएको पनि बताए ।





