कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । शुक्रवार मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक राखिएको छ ।
चौतर्फी आलोचना बढेपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रशासन कार्यालयले जोरविजोर प्रणालीबारे पुनर्विचार गर्ने भएका छन् ।
कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ७गतेदेखि सवारी साधनमा जोरबिजोर लागू गरिए पनि त्यसले झन् भीडभाड बढाएको भन्दै गुनासा आउन थालेपछि सिडिओहरू छलफल गर्न लागेका हुन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार जोरबिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर भोलिसम्ममा निर्णय लिइने बताएका छन् ।
सरकारले संक्रमण र अस्पतालमा बिरामीको चापलाई कम गर्न जोर-बिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन । उपत्यकाका ठूला अस्पतालकै चिकित्सकहरू जोर-बिजोर प्रणालीले संक्रमण नरोक्ने बरू भीडभाड बढाउने बताउँछन्।
सबै कामकाज जारी रहेको बेलामा यातायातमा मात्रै जोरविजोर गर्दा चल्ने सवारी साधनको चाप घटेपनि चलेका सवारीमा मानिसहरु कोचिएर यात्रा गर्न बाध्य भएका छन् । चौतर्फी आलोचना बढेपछि उपत्यकाका सिडिओहरुले यसबारे समीक्षा गर्ने तयारी गरेका छन् ।





