मोरङ – गएको एक सातामा मोरङ र ललितपुरमा भेटिएको तीनवटा शव व्यवसायिक साझेदारले हत्या गरेका व्यक्तिहरुको भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार मोरङको धनपालथान गाउँपालिका ७ र ललितपुरको गोदावरी नगरपालिका १२ मा शव भेटिएका तीन व्यक्ति घरजग्गाको कारोबार गर्दै आएका साझेदार हुन्। माघ १३ र १४ गते धनपालथानमा राजेन्द्र श्रेष्ठ र शम्भु चौधरी तथा माघ २० गते मोहन लिम्बूको शव ललितपुरको गोदावरी नगरपालिका ठेचोमा गाडिएको अवस्थामा फेला परेको थियो।
तीनै जना जग्गा कारोबारमा साझेदार रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख जिसीले बताए। उनीहरुले सिरहाका अनिल मण्डलसँग मिलेर कारोबार गर्दै आएको खुल्न आएको छ। यसक्रममा आर्थिक लेनदेनमा समस्या देखिएपछि मण्डलले भारतीय र नेपाली अपराधीको सहयोगमा हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको हो। चौथो साझेदार मण्डलले उनीहरुको हत्यापछि शव लुकाउने क्रममा मोरङ र ललितपुरमा गाडेको प्रहरी बताउँछ।





