काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी २०७९ जेठ ४ गते गर्ने सहमति बनेको भएपनि निर्वाचनको मिति तोक्न सकस परेको छ।
स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन गर्न सरकारलाई चौतर्फि दबाव बढेको भएपनि देउवाले मिति तोक्न आलटाल गरिरहेका हुन्।
प्रधानमन्त्री देउवासँगको सहमतिपछि निर्वाचन आयोगले निर्वाचन आयोगले तयारी थालिसक्दा समेत देउवाले मिति घोषणा गर्न सकेका छैनन्। पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को विवादमा अल्झिएकै कारणले सकस परेको छ।
अमेरिकाले एमसिसी संसदबाट पास गर्न दिएको मिति गुज्रिसकेको भएकाले देउवा निर्वाचनअघि नै एमसिसी पास गराउन चाहन्छन्। तर, सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसिसी संशोधनबिना अगाडि जान नसक्ने अडानपछि देउवा दबावमा छन्।
गठबन्धनभित्र बाटै एमसिसीको दबावमा रहेका प्रधानमन्त्री देउवा निर्वाचनको अर्को दबावमा परेका छन्। निर्वाचन आयोगसँगको सहमतिपछि बिहीबारको नियमित बैठकबाट सरकारले निर्वाचनको मिति घोषणा गर्ने आम अपेक्षा थियो। तर, बिहिबार नियमित बैठक समेत बस्न सकेन।
बिहिबार बैठक नबसेपनि आगामी सोमबार बस्ने नियमित बैठकले निर्वाचनको मिति घोषणा गर्ने अपेक्षासहित तयारीलाई तिव्र पारेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउँछन्।





