काठमाडौँ : संखुवासभाको मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ।
प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन्। ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन्।
मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रहरीले जनाएको छ।
सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन्।
तेजबहादुरको शव घरको आँगनमा फेला परेको छ भने श्रीमती मनमाया र बुहारी रन्जनाको घरनजिकै खोल्सीमा भेटिएको छ।
तेजबहादुरका नाति/नातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको बताइएको छ।
मृतकको टाउको ढाड लगायतका शरीरका केही अंगमा चोट रहेको छ। तेज बहादुरका दुई भाई, छोरा भने वैदेशिक रोजगारीमा छन्। रन्जनाका श्रीमान रमेश पनि वैदेशिक रोजगारीमै छन्।





