मेडिकल कलेजहरुले मनोमानी ढंगले शुल्क असुलेको विरोधमा कयौँ दिनदेखि प्रदर्शनमा उत्रिएका सात विद्यार्थी संगठनले आइतबार काठमाडौँ मेडिकल कलेजको प्रशासनमा ताला लगाइदिएका छन्।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल छैँटौ, नेपाल विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनहरुले मेडिकल कलेजहरुले केही महिनायता जथाभावी शुल्क असुलेको भन्दै विरोध गरिरहेका छन्।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजअगाडि टायरसमेत बालेर विरोध प्रदर्शन गरेका छन्।शुल्कको विवाद नसुल्झाई भर्ना प्रक्रिया रोक्न चेतावनी दिए पनि कलेज प्रशासनले अटेर गरेको आन्दोलनरत विद्यार्थीहरुले दाबी गरेका छन्।
कलेज प्रशासनहरुले शुल्क व्यवस्थापन नगरेसम्म आन्दोलन निरन्तर अघि बढाइरहने पनि विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन्।





