-जयराम बिडारी
साउन १६, काठमाडौं
नेपाल एकिकरण योजनामा शाह बंशिय राजाहरुलाई तिनका दाहिने हातका रुपमा रही दरिलो साथ सहयोग र देशभक्तिको अनुपम नमूना प्रस्तुत गर्ने राष्ट्रवादी सपुत वीर अमरसिंह थापाकोा २०८औं स्मृति दिवस सम्पन गरिएको छ ।
सो कार्यक्रममा राष्ट्रिय विभूति वीर अमरसिंह थापा प्रतिष्ठानका अध्यक्ष इन्जिनियर कृष्णबहादुर थापाको अध्यक्षतामा तथा माननीय रक्षा मन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा विशिष्ट अतिथि प्रा. दिनेशराज पन्त, प्रमुख वक्ता प्रा. डा. राजाराम सुवेदी, प्रा. डा. धनबहादुर कुँवरको विशेष आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सदनको प्रेक्षालयमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा माननीय रक्षा मन्त्री मानवीर राईले नेपाली सेनाका पश्चिम किल्लाका सर्वोच्च कमाण्डरका रुपमा राष्ट्रिय स्वाभिमान र अस्तित्वको रक्षार्थ शाह वंशको चार पुस्ता सम्म अथक सेवा पुर्याएका महान सैनिक कमाण्डर कुनै आधुनिक युद्ध उपकरणबिनै विशाल अंग्रेज,भोट,तिब्बत युद्धमा रणकौशल प्रदर्शन गरी राष्ट्रिय स्वाभिमान जोगाउन सफल महान ब्यक्तित्वको स्मृति सभामा उपस्थित हुन पाउँदा खुशी लागेको बताए । उनले हाम्रा गर्विलो इतिहासको सम्मान गर्नुपर्ने बताउँदै सरकार राष्ट्रिय विभूतिको योग्य सम्मानका लागि कटिबद्ध रहने बताए ।

उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातले अमरसिंह थापाका ऐतिहासिक र राष्ट्रवादी भूमिकाको चर्चा गर्दै त्यस ताका अमरसिंह थापालाई अङ्ग्रेज तर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउँदा पनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्वोपरि ठानी वीरता पूर्वक अङ्ग्रेजसँग लडेकाले उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने उल्लेख गरे । उनले यस्ता वीर योद्धाको स्मृति दिवस पार्टी प्यालेस र अन्य स्थानको खोजी गर्नुपर्ने बिडम्बनामा रोष प्रकट गर्दै नेपाली सेनाको हेड क्वाटरमा भव्य कार्यक्रमको आयोजना गरि मनाउनुपर्ने कुरा सुझाए । सो अवसरमा कवि अनुराधा थापाले राष्ट्रभावले ओतप्रोत भएको कविता वाचन गरेकी थिइन् ।
कार्यक्रममा इतिहासकार प्रा.डा. राजाराम सुवेदीले भीम सिंह थापाका सुपुत्र वीर अमरसिंह थापाका बारेमा प्रकाश पारेका थिए । उनले पृथ्वी नारायण शाहको सैनिक कमाण्डरका रुपमा कीर्तिपुरको पहिलो युद्धमा भीम सिंह थापाले वीरता र पराक्रम देखाएकाले पृथ्वीनारायण शाहले उनलाई ‘बाघ’को उपाधी दिएका थिए । बाघ भीम सिंहले पलाञ्चोकको युद्धमा वीरगति प्राप्त गरेपछि अमरासिंह थापाले ‘मरवट’ प्राप्त गरी गोरखा दरबारमा हुर्किएर उमेर पुगेपछी उनले पिताको स्थान लिए । पृथ्वी नारायणका पालामा योग्यताको कदर हुने उल्लेख गर्दै वर्तमान सरकारले पनि त्यस्तै योग्य मानिसलाई सहि मुल्यांकन गरी उचित स्थान दिइरहेको छ भन्ने प्रश्न गर्दै वर्तमान रक्षामन्त्रीको टिममा बिद्वतवर्गलाई समेटेको छ कि छैन विचार गरिनुपर्ने बताए । यसैक्रममा अर्का बक्ता प्रा. डा. धनबहादुर कुँवरले नेपालको एकीकरण अभियानमा वीर अमरसिंह थापाको शौर्य वीर र पराक्रमको गाथाका बारेमा प्रकाश पार्दै नेपालको सिमाना बिस्तारमा अमरसिंह थापाको योगदानको समेत चर्चा गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय विभूति वीर अमरसिंह थापा प्रतिष्ठानका उपाध्यक्ष नवराज थापाले अभ्यागतहरुलाई स्वागत गरेका थिए भने प्राज्ञ तथा इतिहासकार दिनेशराज पन्तले आफ्नो धारणा राखेका थिए । सो समारोहमा वरिष्ठ पत्रकार तथा प्रा. पुरुषोत्तम दाहाल ,बरिष्ठ साहित्यकार डा. बमबहादुर थापा ‘जिताली’ , पूर्व सचिव अर्जुन जंग थापा, सीता पराजुली, स्वास्थ्य बीमा बोर्डका चिकित्सक डा. राम थापा क्षेत्री मिडियाकर्मीहरु डिल्लीरमण सुवेदी,रेणुका भट्टराई,गङगाप्रसाद भेट्वाल हरिराम भेट्वाल, का साथै काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, लगायत सयौंका संख्यामा उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण डा.शशी थापा पण्डितले गरेकी थिइन् भने सभाध्यक्ष कृष्णबहादुर थापाले आमन्त्रित व्यक्तित्वहरूलाई उपस्थित भइदिएकामा धन्यवाद ज्ञापन गरे ।





