काठमाडौं : संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमण तत्काल रोक्न आह्वान गर्दै बोलाएको विशेष महासभामा नेपालले पक्षमा मतदान गरेको छ।
गएराति भएको ११औँ विशेष महासभामा युक्रेनमाथि रुसले जारी राखेको कारबाही तत्काल रोक्ने प्रस्ताव बहुमतले पारित भएको छ। जसमा नेपालसहित १ सय ४१ देशले प्रस्तावको पक्षमा मतदान गरेका हुन्। नेपालका तर्फबाट महासभामा बोल्दै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा रहेको बताए।
नेपाल वुद्धभूमि भएकाले पनि शान्ति प्रेमी देश भन्दै राईले शान्ति स्थापनका लागि कुटनीति र संवादको विकल्प नभएको उल्लेख गरे। यो प्रस्तावमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र युक्रेनी क्षेत्रबाट रुसको सैन्य बल तत्काल पूर्णरुपमा बिना शर्ता हटाउन माग गरिएको छ। यो प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, एरिट्रिया र सिरियाले मात्र मतदान गरेका छन्।





