ओखलढुङ्गामा गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुङ्गाले किच्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा
को १ ज ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का १० वर्षीय इशव कोइराला सोही ठाउँका ७ वर्षीय युनिषा कोइराला, र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए। उनका अनुसार जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन्।
घाइतेको अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ।





