काठमाडौँ, माघ २१ गते । गत वैशाखको पहिलो साता नेपालबाट कुवेत हिँडेका एक भारतीय नागरिक शङ्कास्पद पीसीआर रिपोर्टसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । उनको रिपोर्टमाथि शङ्का लागेपछि विमानस्थल हेल्थ डेस्कले नै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगायो । रिपोर्ट नेगेटिभ भए पनि त्यसमा प्रयोग भएको ‘छाप र हस्ताक्षर’ शङ्कास्पद देखिएको थियो ।
वैशाखमै पीसीआर रिपोर्टमाथि शङ्का लागेका १२२ जनालाई विदेश जानबाट रोकी विमानस्थलबाटै फर्काइएको थियो । त्यस्तै, काठमाडौँबाट नेगेटिभ पीसीआर रिपोर्ट लिएर हङकङ पुगेका तीन नेपालीको पुनः परीक्षण गराउँदा कोरोना पोजेटिभ देखियो । गत पुस १४ गते भएको उक्त घटनापछि हङकङले नेपालको पीसीआर परीक्षण रिपोर्टमाथि नै प्रश्न उठायो ।
यी दुई नमुना घटनाको प्रकृति ठ्याक्कै मिल्दोजुल्दो देखिन्छ । विदेश जानका लागि नक्कली पीसीआर रिपोर्ट तयार पार्ने र पोजेटिभ देखिए पनि नेगेटिभ बनाउने । यस कार्यमा ठूलो गरोहकै संलग्नता रहेको तथ्य सावर्जनिक
भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहलाई कारबाही गर्न आफ्ना कर्मचारीलाई ‘विदेश जानका लागि’ भन्दै पीसीआर परीक्षण गर्न विभिन्न अस्पतालको ल्याबमा पठाई अनुसन्धान सुरु गरेको थियो । प्रहरीको एक हप्ताको अनुसन्धानका क्रममा शङ्का लागेका अस्पतालमा पीसीआर परीक्षण गर्न पुगेका कर्मचारीलाई ल्याब सञ्चालक तथा कर्मचारीले ९÷१० हजार तिरेमा ‘स्वाब नलिई दुई घण्टामै रिपोर्ट दिने’ बताएपछि सो तथ्य बाहिर आएको हो । यो घटना बुधबार मात्र प्रहरीले सार्वजनिक ग-यो ।





