नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन उपलब्ध गराएको छ ।
मंगलबार एक विशेष कार्यक्रमको बिच काठमाडौंको बोहोराटार स्थित मानव सेवा आश्रममा दुई वटा वाहनहरू हस्तान्तरण गरिएको हो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गराएका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको यो आश्रमलाई सहयोग उपलब्ध गराएको हो । साँचो हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको प्रतिक्रिया दिए। उनले यस्तो संस्थालाई नबिल बैंकले सघाउन पाउँदा खुसी लागेको बताए । अध्यक्ष पौड्यालले राज्यसँगै नागरिक र संस्थाहरूको पनि उत्तिकै उत्तरदायित्व रहेको बताए।





