काठमाडौँ, ३० भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसित आज कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
मन्त्रालयका सबै कर्मचारीसहितको बैठकमा कार्यसम्पादन सम्झौता गर्दै मन्त्री भण्डारीले सबै मन्त्रालयभन्दा उत्कृष्ठ बनाउने गरेर काम गर्नुपर्नेमा जोड दिनुभएको उहाँका स्वकयि सचिव आनन्द भट्टले जानकारी दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “इमान्दारिपूर्वक आफ्नो दायित्व र जिम्मेवारी सम्झेर आजका ज्वलन्त समस्या समाधानमा जुट्न आग्रह गर्दछु ।”
सबैले साझा प्रतिबद्धता गरेर दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री भण्डारीले दृढ इच्छाशक्ति भए आइपर्ने सबै कामलाई साझा रुपले समाधान गर्न सकिने बताउनुभयो । “यो कार्यसम्पादन सम्झौता परम्परागत हिसाबले गर्नुछ भनेर गरिएको होइन, वास्तविक रुपमा नतिजा देखिने गरेर सम्झौता गरेका हौँ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय चुनौतीको सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काम गर्ने दौरानमा चाहेर वा नचाहेर पनि समस्या आइपर्छन्, त्यस्ता आइपर्ने समस्यालाई इमान्दारितापूर्वक जनताप्रति उत्तरदायी भएर सहजरुपले समाधान गर्नुपर्छ ।”
मन्त्रालयका सचिव द्वय राउत र कार्कीले सो कार्यसम्पादन सम्झौता बैठकमा सम्झौताअनुरुप जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुभयो ।





