जयराम बिडारी
काठमाण्डौ। नेपालको थेरवाद बौद्ध धर्ममा प्रसिद्ध भिक्षुणी धम्मवती गुरुमांको योगदानको सम्मान गर्दै सम्यक सन्देशले धम्मवती वीरता महोत्सव गर्ने भएको छ । ‘सम्यक् कर्मको अनुशीलन जीवनकालमै सम्मान’ भन्ने नारासहित समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक् सन्देशले २०८१ वैशाख १५ गते वीरता महोत्सव गर्न लागेको हो ।
वि. सं. २००६ सालमा गृहत्याग गर्नुभएकी धम्मवती गुरुमां बर्मेली भिक्षु ऊ. चन्द्रमणी महास्थविरको उपाध्यायत्वमा वि. सं. २००६ साल कार्तिक १० गते भारतको कुशीनगरमा प्रवर्जित हुनुभएको थियो । बौद्ध शिक्षा अध्ययनको सिलसिलामा उहाँ करिब १५ वर्ष म्यानमार बस्नु भएको थियो । नेपाल फर्किएपछि निरन्तर बुद्ध शिक्षा प्रचारमा सक्रिय गुरुमांले थेरवाद बुद्ध धर्मको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
करिब आठ दशकदेखि बुद्ध धर्मको प्रचारमा सक्रिय गुरुमां धर्मकीर्ति विहार, धर्मोदय सभा, शाक्यधिता अन्तर्राष्ट्रिय भिक्षुणी संघ, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, बौद्ध वृद्धाश्रम, लुम्बिनी बौद्ध विश्वविद्यालयजस्ता दर्जनौं संघसंस्थामा आवद्ध हुनुहुन्छ । धर्मकीर्ति बौद्ध पत्रिकाको संस्थापकसमेत रहनुभएकी गुरुमांले बौद्ध साहित्यको विकासमा उल्लेखनीय योगदान दिनुभएको छ । उहाँका नेपाल र नेपाली भाषामा दर्जनौं पुस्तकाकार कृतिहरु प्रकाशित भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइको प्रमुख आतिथ्यमा हुने महोत्सवमा गुरुमांलाई सम्यक् अभिनन्दन प्रदान गरिने छ भने धम्मवती गुरुमांको योगदानलाई देशदेशान्तरमा फैलाउन योगदान गर्ने तीसभन्दा बढी व्यक्तिहरुलाई धम्मवती गौरव पदकसहित सम्मान गरिने सम्यक सन्देशका सल्लाहकार एवं अभिनन्दन समारोह समितिका संयोजक श्यामलाल चित्रकारले बताए । कार्यक्रम गुरुमांको ९१ औँ जन्मोत्सव तथा बुद्ध शासनमा प्रवर्जित भएको ७६ औं वर्षप्रवेशको अवसर पारेर गर्न लागिएको हो ।





