आजदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म विनायात्रु रेल सञ्चालन गरिने भएको छ ।आजदेखि नियमित रूपमा दैनिक एक पटक जनकपुरधामको मुख्य स्टेशन (कुर्था)–जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ।
सञ्चालनमा आइसकेपछि अवरोध नहोस् भन्ने उद्देश्यले परीक्षणका लागि दैनिक एकपटक खाली रेल सञ्चालन गर्न लागिएको नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले बताए।
उनले १० दिनसम्म एकपटक आउने र जाने गरी रेल सञ्चालन गरिने बताए। उनका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलको उद्घघाटन गर्नेछन्। यद्यपि, उद्घाटनको मिति तय हुन बाँकी रहेको पनि उनले स्पष्ट पारे।
रेल सञ्चालन गर्न चालकसहितका प्राविधिक कर्मचारीका लागि भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटूजी सम्झौता भएको पनि महाप्रबन्धक झाले बताए।
नेपाल सरकारले दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो।





