भक्तपुर ३१ भदौ २०८१।
भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ ।
जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५–१६ फिट अग्ला लिङ्गोहरू ठडाएर जात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीको दिन स्थानीयवासीले यसलाई यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
भाद्रशुक्ल त्रयोदशी अर्थात् दोस्रो दिनलाई यम्बद्यःको नित्यपूजा र आरतीबाहेक अरू विशेष पूजा नहुने हुँदा ‘दिकु’ (विश्राम) भनी मान्ने प्रचलन रहेको छ । भाद्रशुक्ल चतुर्दशी अर्थात् तेस्रो दिन साँझ परेपछि खौमाटोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग जात्रा गरी सिद्धपोखरीमा लाने प्रचलन छ । यस दिन रातभरि सिद्धपोखरी अर्थात् इन्द्र दहमा देवतालाई राखेर भव्य मेला भर्ने गरिन्छ ।
भाद्रशुक्ल पूर्णिमा अर्थात् चौथो दिन भक्तपुरका बासिन्दा बिहानै सिद्ध पोखरी पुगेर ‘इन्द्र दह स्नान’ गर्ने गर्दछन् । यस दिन बिहानदेखि सिद्धपोखरीमा स्थानीयको भीड लाग्ने गर्दछ । त्यस दिन समय् (भोज) चढाएर, खाएर येँयापुन्ही मान्छन् । समय्बजीमा छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काँक्रो विशेष रूपले खाने चलन छ । बेलुकी इन्द्रायणी देवीलाई पुनः रथमा विराजमान गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह देवता भित्र्याउने गरिन्छ





