निषेधाज्ञाको अवधि अब असार १४ गतेसम्म कायम
काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि असार ७ गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि अब १४ गतेसम्म कायम रहनेछ ।
बारअनुसार पसल खुल्ने
स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ ।
आइतबार, मंगलबार र बिहिबार सुन पसल, भाँडा भान्सा, विद्युतिय सामग्री, अटोमोबाइल शो रुम, मोटस पार्टस र इलेक्टोनिक्स सामग्री र कम्युटर पसल खोल्न पाइन्छ । सोमबार र बुधवार र शुक्रवार डिपार्टमेन्टल स्टोर, सपिङ मल खेलकुद सामग्री, कस्मेटिक साडी, गिफ्ट आइटम र कपडा पसल खोल्न दिने निर्णय गरिएको छ ।
बारअनुसार खुल्ने पसल बिहान ११ बजेबाट ४ बजेसम्म मात्र खोल्न पाइन्छ’ । ‘किराना, खाद्यान्न र स्टेशनरी पसलको हकमा पुरानै निर्णय कायम गरिएको छ ।’ जेठ ३० गते स्थानीय प्रशासनले असार १ बाट लागू हुनेगरी किराना र स्टेशनरी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो । सो निर्णयमा हेरफेर गरिएको छैन ।
उपत्यकामा जोर बिजोर प्रणाली
उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।





