प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेपछि वरिष्ठतम्का आधारमा दीपककुमार कार्कीले कायममुकायमकाे जिम्मेवारी सम्हाल्ने भएका हुन्।
नेपालको संविधानको धारा १०१(२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन्।
नेपालको संविधानको धारा १०१ को उपधारा (६) मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि यसको अन्तिम टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने उल्लेख छ। वरिष्ठतम् न्यायाधीश स्वतः कायममुकायम प्राधानन्यायधीशको रुपमा कायम हुने प्रावधान छन्।
सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले २१ बुँदे आरोप लगाउँदै जबराविरूद्ध ९८ सांसदको हस्ताक्षरसहित महाभियोग दर्ता गरेका छन्।





