गोरखामा हिउँ खेल्न गएका दुई जना किशोर बेपत्ता भएका छन्। बारपाक सुलिकोट गाउँपालिका-१ का १६ वर्षीय करण घले र २ का सञ्जय घले माघ २० गते देखि बेपत्ता छन्।
पाँच दिनदेखि दुई जना किशोर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
उनीहरू हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक जाने भनेर हिँडेका थिए। उनीहरू २० गते घरबाट लाप्राकमा हिउँ खेल्न भनेर बिहान खाना खाएर १० बजेतिर हिँडेका रहेछन्,’ प्रहरी नायब उपरीक्षक दाहालले भने, ‘त्यस दिनदेखि सम्पर्कविहीन छन्। अन्यत्र पो गएका हुन् कि भनेर पनि अनुसन्धान गर्दैछौं।
उनीहरू गत बिहीबारदेखि नै बेपत्ता भएपछि आफन्त तथा स्थानीय आफैंले खोजी गरेका थिए। तर उनीहरू फेला नपरेपछि आफन्तले प्रहरीलाई आइतबारमात्रै खबर गरेका थिए।
उहाँहरू आफैंले खोज्नुभएको रहेछ सुरूमा, हामीलाई आइतबारमात्रै खबर भएको हो,’ उनले भने। स्थानीय र प्रहरी मिलेर उनीहरूको खोजी गरिरहेका छन्।
हामीले उहाँहरूको हुलिया सबै ठाउँ पठाइसकेका छौं,’ दाहालले भने, ‘प्राविधिक विश्लेषण पनि गरिरहेका छौं। कल डिटेल्स पनि मगाएका छौं।





