डा.भानुभक्त आचार्यको कबिता संग्रह शब्दब्रम्हा राष्ट्रिय धान दिबसको अवसर पारेर काठमाडौंको एक समारोह बीच लोकापर्ण भएको छ । पत्रकारितामै विधावारधि गरेका प्रध्यापक भानुभक्त आचार्यले समाज, राजनिति र पत्रकारितामा भएका विकृति र विसंगतिलाई ब्याङग्य तथा प्रहार गरेका छन् ।कवितामा प्रयोग भएका विम्व सहजै बुझ्न सकिने किसिमका छन् । आचार्यका कबितामा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, भुपी शेरचन, माधव प्रसाद घिमिरे एवम् विहेशी कविहरुमा शेक्शपियर,जोन किड्स, पिवी, शेली लगायतका विभिन्न कविहरुको गहिरो प्रभाव रहेको देखिन्छ ।

‘शब्दब्रम्ह’ कविता संग्रहलाई आचार्यले ५ खण्डमा विभाजन गरेका छन् । जसमा पहिलाले सामाजिक कुरीतिमाथि ब्यङ्ग्य प्रहार गरेको छ । दोस्रोले समसामयिक मुद्धालाई पस्केको छ । तेस्रोले मुलुकको अस्थिर, फोहरी, भ्रष्ट तथा अवसरवादी राजनीतिप्रति प्रहार गरेको छ । चौंथोले उनकै पत्रकारिता क्षेत्रका बेथिति र विसङ्गतिलाई उजागर गरेको छ भने पाँचौं भावनात्मक तथा मनोरम गीतहरुको संग्रह छ । यो संग्रहमा ५४ वटा कविता समेटिएका छन् जसले समाजका बहुआयामिक क्षेत्रलाई स्पर्श गरेका छन् ।

यो लोकार्पण कार्यक्रम प्रायोजक निमा एकेडेमी ज्ञानेश्वर काठमाडौं रहेको थियो भने आयोजक आवरण प्रकाशनले गरेको थियो । लोकार्पण कार्यव्रmमका प्रमुख अतिथि गुरु एलपी भानु शर्मा, विशेष अतिथि संविधानविद् भिमार्जुन आचार्य, अतिथिहरुमा बरिष्ठ पत्रकार बबिता बस्नेत, डा निर्मलमणि अधिकारी, गायिका सत्यकला राई, नीमा एकेडेमीका शैक्षिक शैक्षिक निर्देशक मोहन घिमिरे लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम अध्यक्षता रमेश पौडेलले गर्नुभएको थियो । प्रमुख अतिथि लगायत अन्य अथितिहरुले डा. भानुक्त आचार्यको कविता संग्रह ‘शब्दब्रम्ह’ माथि समीक्षा मन्तव्य दिएका थिए । सबैले आचार्यको कविताप्रति प्रशंसा गरेका थिए ।






