
चितवन / नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ ।
सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । सो बसमा रहेका तीनजना यात्रु हाम फालेर बाहिर निस्केको र उनीहरूका अनुसार सो बसमा ३० जना यात्रु थिए ।
बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको रहेको भन्ने पनि उनीहरूले बताएको डीएसपी रिजालले जानकारी दिए । अर्को बस पनि पुरिएको भन्ने कुरा आए पनि केही कुरा नखुलेको उनको भनाइ छ ।





