काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. २६ को सिसई क्षेत्रको अनुगमन गर्दै उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफुले यसको विस्तृत गूरूयोजना बनाई काम अगाडी बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले डुबानको पीडामा परेका स्थानीय समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदीको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अनुगमनको क्रममा स्थानीयहरूले असार पहिलो हप्ता आएको बाढी र डुबानबाट भएको क्षतिको बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।
बाढीले भरतपुर महानगरपालिकाको वडा नं. ३ को दोभान चोक, वडा नं. १६ को झनझने र वडा नं. २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए भने १ सय बिगाहा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ ।





