सत्तारूढ पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ। आगामी स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्नको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
उनले भने, ‘शीर्ष नेताहरू कोरोनाको कन्ट्रयाक ट्रेसिङमा पनि पर्नुभएको छ। त्यसमा आवश्यक तयारी पनि नपुगेको कारणले बैठक स्थगित भएको हो।’
निर्वाचन आयोगले स्थानीय तहको चुनाव वैशाखमा गर्ने गरी मिति तय गर्न सरकारलाई आग्रह गर्दै आएको छ। तर, सत्तारूढ दलहरु सबै तहको चुनाव एकैपटक गर्ने मनस्थितिमा देखिएका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समिति स्थानीय तहभन्दा अघि आमनिर्वाचन गर्ने गरी छलफलमा जुटेको छ।





