नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाडौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर होल्ड गरिएपछि आत्तिएर एक जना महिला यात्रु बेहोस हुनुभएको छ । उहाँ सामान्य उपचारपछि घर फर्कनुभएकाे छ ।
मौसम खराब हुँदा करिब आधा घण्टाजति जहाजलाई आकाशमै होल्ड गरेर राखिएपछि सो विमानमा यात्रा गरिरहनुभएकी काठमाडौं महानगरपालीका वडा नम्वर २३ कि ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस हुनुभएको प्रहरीले जनाएको छ ।
विमान हावामा होल्ड रहेकै अवस्थामा थापा आत्तिएर बेहोस भएकोमा उहाँलाई तत्काल नजिकै रहेको नेपाली सेनाको अस्पतालमा लगिएको बताउनुभयो ।
अस्पतालमा पुगेपछि उहाँको होस खुलेको र नेपालगञ्जमा रहनुभएका उहाँका आफन्तले अस्पतालमा पुगेर उहाँ सँगै रहनुभएको पनि सई शाहले बताउनुभयो ।
बिहीवार बिहान काठमाडौंबाट ८ बजे उडान भरेको बुद्ध एयरको उक्त जहाज ८ः५५ बजेसम्म नेपालगञ्जमा अवतरण गरिसक्नुपर्नेमा भिजिविलिटी कम भएका कारण जहाजलाई नेपालगञ्जको आकाशमा करिब ३० मिनेट नै होल्ड गरेर ९.२५ मा अवतरण गराइएको थियो ।
मौसमको खराबी वा ट्राफिकका कारण जहाजलाई आकाशमा होल्ड गराउनु सामान्य मानिने भए पनि ती महिला यात्रु आत्तिएकोले अलिकति स्वास्थ्यमा समस्या आएको बुद्ध एअर नेपालगञ्जले जनाएको छ ।आत्तिएर जहाजमा बेहोस हुनुभएकी महिलाको सामान्य उपचारपछि उनका आफन्तले आफूसँग घर लिएर गैसकेको बताउनुभयो ।





