– विश्वनाथ खरेल
हाम्रो देशमा बडादसैँको नजिकैमा पितृकार्य सम्पन्न गरेर चाडपर्व मनाउने परम्पराअनुसार आफ्नो घर, डेरा, त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थलमै भएपनि पितृको श्राद्ध तथा तर्पण गरिने यो पवित्र कार्य गरिन्छ । यसरी सोह्रश्राद्ध भन्नाले वर्षको एकपटक अर्थात् आश्विन कृष्ण पक्षका १६ दिन पितृलोक पृथ्वीको सबैभन्दा नजिक आउँछ र त्यसवेला पितृहरूले आफ्ना सन्ततिका गतिविधि नियालीरहेका हुन्छन् भन्ने हाम्रो धार्मिक मान्यता छ । फलतः दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यसलाई विभिन्न धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार भनाई अनुसार सोह्र श्राद्धका सबै तिथिको समय अपराह्नकालमा गर्नु पर्ने भनिएको छ ।
देशको राजधानी काठमाडौंमा मानिसभन्दा देवता र घरभन्दा मन्दिरको संख्या धेरै रहेको भनाइ प्रचलित थियो । देशमा बस्ने सबैभन्दा बढी जातजातिका धर्म, कला र संस्कृतिप्रति उच्च लगाव रहेका कारण चाडपर्वको महत्व झन् बहुआयामिक छ । चाडपर्वकै अवसरमा आर्थिक गतिविधि पनि उल्लेखनीय रुपमा हुने हुँदा चाडपर्वको आर्थिक महत्व पनि उत्तिकै देखिन्छ । मूलतः चाडपर्व चान्द्रमानको पात्रो अनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । यी नै चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भएपनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । यसपालिकोे पितृपक्ष सोह्रश्राद्ध असोत ५ गते सुरु भई असोज २० गते समापन हुँदै छ ।
यद्यपी कोरोनाको कहरले संसारभरी सताइरहेकोले चाडबाड, तिथि, पर्व कुनैमा यसपालि रौनक त्यति देखिएको छैन् । यसरी श्राद्धादि कर्म पनि सकेसम्म कोेभिड–१९ लाई बिचार गरेर घरैमा गर्नुपर्ने बाध्यता रहेको छ । फलतः दिवङ्गत सबै पितृहरूको कल्याण उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोह्रश्राद्ध हो । यसर्थ आजको बढ्दो आधुनिकता कारणले गर्दा कतिपय व्यक्तिहरुलाई यो कुरा थाहा नहुन पनि सक्दछ । यसरी हरेक व्यक्तिको जिम्मेवारी बढ्दै गएको कारणले गर्दा आफ्नो संस्कार, मूल्य र मान्यतालाई बिर्संदै गइरहेको छ । जब कि समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभइ नहुने बस्तुको अभाव हुँदै गएको छ । अतः परापूर्वकालदेखि चलि आएको सबै संस्कारहरु पुरा गर्न नसके पनि केही मात्रामा भए पनि आफ्नो धर्म र संस्कृतलाई जीवित राख्नु प्रत्येक हिन्दूहरुको परम कर्तव्य पनि हो । हामीले आफ्ना आमा बाबुबाट जीवन पाई पालन भई हुर्कने तथा शिक्षा आदि पाउने भएकोले हामी उनीप्रति ऋणी हुन्छौं । त्यस्तै गरी धर्मशास्त्र अनुसार प्रत्येक मान्छेले तीन किसिमका ऋण लागेको हुन्छ । पहिलो ऋण हो देव ऋण, दोस्रो ऋषि ऋण र तेस्रो पितृ ऋणबाट छुटकारा पाउँनका लागि आमाबुबा बाचुँञ्जेल उनीहरुको सेवा सुश्रुषा पालन पोषण गर्ने र मृत्यु पश्चात समेत उनीहरुको काजक्रिया गरी प्रत्येक वर्ष पितृ पक्षमा उनीहरुको नाम श्राद्ध गर्नु हाम्रो परम कर्तव्य हो ।
यसरी पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । देशे काले च पात्रे च श्रद्धया विधिना च यत, पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे । यसको अर्थ देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको नामोच्चारण गरी ब्राम्हणहरुलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यस बारे के प्रष्ट हुन्छ भने पितृहरुको नाममा सालको एकपटक भएपनि सम्झने कार्य नै श्राद्ध हो । यसमा श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ । यसरी श्राद्ध कर्मको विशेषता भनेको शुद्ध मन्त्र उच्चारण सहित श्राद्ध गर्नु हो किन कि भनिएको पनि छ । यसमा भनिएको पनि छ पितृहरुलाई शुद्ध मन्त्र शुद्ध वाक्य चाहिन्छ भने देवताहरुलाई भाव भए पुग्छ श्राद्धकल्पका अनुसार पनि– प्रेत र पितृलाई आफूलाई मन पर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो ।
समग्रमा भन्नुपर्दा चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । अतः हिन्दूहरुको महान पर्व दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता पनि छ । यस प्रकार आफ्ना पितृहरुको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ ।
हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन् । यसरी भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । जुन यस प्रकार छ । यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तै गरी दोस्रो वार्षिक एकोदिष्टदि नैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नोे इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो । त्यसरी चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचौ सपिण्डि श्राद्ध हो । छैठौं पार्वण श्राद्ध हो । सातौं गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौं पितृ तृप्ति विद्धानहरुको सुख प्राप्ति र शुद्धिका निमित गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो । नवौमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांङ्ग श्राद्ध हो । दशौं देवताहरुको उद्देश्यले गरिने दैविक श्राद्ध, ११ देशान्तरमा जाँदा घ्यूले गरिने यात्राश्राद्ध हो । र बाह्रौमा शरीर स्वस्थ्य होस् भनि गरिने पुष्टिश्राद्ध हो । त्यस्तै गरी अर्को पाँच प्रकारको श्रद्धा रहेको छ । यो श्रद्धा भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौ पार्वण श्रद्धा हो । यी सबै मध्ये खास गरीकन हाम्रो समाजमा एकोदिष्ट श्राद्ध जुन आफ्ना पितृहरुलाई वार्षिक रुपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ । त्यस्तै गरी सालको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खासगरीकन सोह्र श्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझनु पर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ ।
यसरी आफ्नोे पितृहरुको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नु पर्छ । एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ । यसको साथै श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नोे नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ । श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरीकन अपराह्रनमा गर्नुभर्ने शास्त्रमा उल्लेख भएको भनाइ पाइन्छ । अतः हिन्दू समाजमा सोह्रश्राद्धको आफ्नै महत्व राख्दछ । अपितु श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरुको उदार गर्ने महत्वपूर्ण कार्य हो ।
विश्वनाथ खरेल
नयाँबानेश्वर, काठमाडौं ।
९८४१–५५६७८५






One thought on “पितृले आशा गर्ने सोह्रश्राद्ध”