प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङका ३० वर्षीय शंकर रेग्मी, जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार छन् ।
पक्राउ परेकासँग प्रहरीले ११ थान मोबाइल, एक घडी, नागरिकता प्रमाणपत्र, पाँच एटिएम र दुई चेक बरामद गरेको महाशाखाले जनाएको छ ।





