काठमाडौँ । काठमाडौंको बल्खुमा ६ वर्षअघि नारायणी तिमिल्सिना ‘अप्सरा’ मृत भेटिइन् । मकवानपुरको मनहरी गाउँपालिका–३ घर भएर काठमाडौँमा ज्यामी काम गर्ने अप्सराको २०७४ पुस २९ मा हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।मध्यरात भएको हत्यामा दुईजना संलग्न थिए । उनीहरू हुन्, धादिङको त्रिपुराशुन्दरी गाउँपालिका–३ स्थित तल्लो पोखरा घर भएका शिवराम अधिकारी र अर्घाखाँची घर भएका जगत विश्वकर्मा ।३७ वर्षीय जगतलाई प्रहरीले भारतको गोवाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । ६ वर्षपछि जगतलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।अप्सराको हत्यापछि फरार भएका जगत भारतमा मजदुरी गरेर बसेका थिए । गोवाबाट कहिलेकाहीँ अर्घाखाँची आउजाउ गरिरहने जगतलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । २०७४ पुस ३० मा काठमाडौँ–१४ बल्खु स्थित भुवनेश्वरी मन्दिर पछाडि बोक्सी दह डाँडामा टाउको र मुखमा चोट लागेको अवस्थामा अप्सराको शव भेटिएको थियो । तर, लामो समयसम्म आरोपी फेला परेका थिएनन् । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डिएसपी सुरक्षा केसी नेतृत्वको टिमले पुरानो फाइल पल्टाएर हत्या आरोपीलाई पक्राउ गर्न सफल भएका हुन् ।
हत्याको मुख्य योजनाकार शिवराम अधिकारी हुन् । ४६ वर्षीय अधिकारी नाम परिवर्तन गरेर केन्द्रीय कारागारमा थुनामा रहेको भेटिएको छ । चोरी मुद्दामा अधिकारी विरुद्ध २०७९ कार्तिक २९ मा ३ वर्ष कैद सजायको फैसला भएको एसएसपी राठौरले जानकारी दिए ।
उनी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । शिवरामले लुटपाट गर्ने उद्देश्यले अप्सराको हत्या गर्ने योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
पूर्व परिचित नारायणी तिमिल्सिनालाई उनले बहाना बनाएर बल्खुमा बोलाएका हुन् । हत्या योजना सफल बनाउन शिवरामले जगतको सहयोग लिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।





