आफ्ना हर दुःखलाई लुकाएर
परिवारको खुशीमा रमाएँ
घर जोडी दिएँ, जग्गा जोडी दिएँ
सम्पूर्ण ईच्छा पुरा गरिदिएँ
परदेशीको चर्पीदेखि भान्सासम्म चम्काएँ
जति कमाएँ उनैलाई सुम्पिएँ
त्यसको कहिल्यै खोजी गरिन
उनी त उता पुट्ट भईसकिछिन
आफ्नो त सुरुवालको इँजार खस्केको
पत्तै भएन
मैले गल्ती गरें
कहिल्यै उनीबाट लुकाईन
कहिल्यै झुठो कुरा बोलिन
सँधै दिल खोलेरै कुरा गरेँ
जे हुने थियो त्यो पनि गरेँ
जे नहुने थियो सो पनि गरेँ
कन्तुरको साँचो सम्हाल्न नसक्दा
आज आफै ओझेलमा परेँ
मैले गल्ती गरेँ
म त सारहै बाठो हुँ भन्ने ठान्थेँ
घरभित्रै घुँडा टेकाई सकेछन्
आफ्नो औकात देखाईसकेछन्
मलाई थाङ्नामा सुताईसकेछन्
जस्को लठ्ठी उसको भैँसी भन्ने सुन्थेँ
मलाई त भैसीको पाडो बनाईसकेछन्
मैले गल्ती गरेँ
भगवानले त दिएकै हुन्
त्यसलाई सम्हाल्न जानिन
परिवार भित्रै राजनीति हुँदो रहेछ
यो कुरा कहिल्यै ठानिन
यो दुनियाँ स्वार्थी भन्ने
अहिले थाहा पाएँ
दैलामा पिसाब गरेपछि बल्ल थाहा पाएँ
मैले गल्ती गरेँ ।
मरेपछि मेरा आँखा खुल्यो
रफीको गाना मेरालागि सार्थक बन्यो
भएरपनि म पिँजडामा परेँ
अब कसरी जिउनु नारायण शिव हरे
मैले गल्ती गरेँ
अब त आँत पनि मर्यो
दाँत पनि झर्यो
पशुपतिमा गएर मागी खानु पर्यो
जाने नजानेको भजन गाउनु पर्यो
पापी पेटका खातिर केही त गर्नै पर्यो
मैले गल्ती गरेँ ।





