धनगढीमा मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी हिरासतमा परेका छन्। मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रविन विष्टले बताए ।
उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् ।बिहीबार धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट उनीहरुले मोबाइल चोरेको सीसीटीभी फुटेजमा देखिएको विष्टको भनाई छ ।
सोही मोबाइल ग्यालरीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अप्रेशनका लागि उनीहरुलाई खटाइएको थियो तर मोबाइल ग्यालरीमा बर्दीमै मोबाइल चोरी गरिरहेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि दुुवै जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।
उनीहरूबाट एउटा-एउटा मोबाइल चोरी भएको फुटेजमा देखियो, ती मोबाइल बरामद भइसकेको छ, अधिकारीले भने। पक्राउ परेकालाई शुक्रबार म्याद थपका लागि अदालतमा लैजाने प्रहरीको तयारी छ।





