चालू आर्थिक वर्षको ११ महिनामा देशको अर्थतन्त्र सहज अवस्थामा देखिएको छ। यो अवधिमा आयात, निर्यात र कुल वस्तु व्यापारघाटा गत वर्षको तुलनामा उल्लेख्य घट्दा ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ शोधनान्तर बचतमा देखिएको छ। कुल विनिमय सञ्चिति पनि १९ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै नेपालमा भित्रिने रेमिट्यान्समा पनि उल्लेख्य वृद्धि भएको छ। अर्थतन्त्रको अवस्था मापन गरिने यी सूचकहरु चालू आवको यो अवधिमा सुधारात्मक देखिएका हुन्।
यस्तो छ आन्तरिक तथा बाह्य अर्थतन्त्रका प्रमुख सूचकको अवस्था
घट्यो उपभोक्ता मुद्रास्फीति
चालू आवको जेठ महिनामा उपभोक्ता मुद्रा स्फिती घटेको छ। अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत रहेको मुद्रास्फीति २०८१ जेठ महिनामा ४.१७ प्रतिशत सीमित रहेको हो। यसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.९४ प्रतिशतमा सीमित रहेको हो। खाद्य तथा पेय पदार्थ तर्फ तरिकारीको मूल्य १६ प्रतिशत, दाल गेडागुडी ११.७६ प्रतिशतले मुद्रास्फीति घट्दा मदिराको ५.९५ प्रतिशतले घटेको हो
आयातनिर्यात घट्यो
आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा आयात र निर्यात दुवै घटेको छ। यो अवधिमा कुल वस्तु निर्यात ३.० प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ। यस्तै यो अवधिमा आयातमा १.८ प्रतिशतले कमी आएको छ। जेठ मसान्तसम्म कुल १४ खर्ब ५३ अर्ब ७० करोड बस्तु तथा सेवा आयात भएको हो। समग्रमा ११ महिनामा कुल वस्तु व्यापारघाटा १.७ प्रतिशतले कमी आई १३ खर्ब १४ अर्ब ४४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो।
११ महिनामा १३ खर्ब धेरै
११ महिनामा नेपालमा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो। यस्तै यो ११ महिनामा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो।
२०८०/८१ को ११ महिनामा नेपाल सरकारको कुल खर्च ११ खर्ब ८१ अर्ब ३० करोड भएको छ। सरकारी खर्च गत आर्थिक वर्षको ११ महिनामा १३.६ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा ०.४ प्रतिशतले मात्र वृद्धि भएको हो। समीक्षा अवधिमा चालू खर्च ८ खर्ब २२ अर्ब ८१ करोड, पँुजीगत खर्च १ खर्ब ३४ अर्ब ९८ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब २३ अर्ब ५१ करोड रहेको छ।
यो अवधिमा ९ खर्ब १९ अर्ब १९ करोड राजस्वबापत उठाएको छ। गत आर्थिक वर्षको पहिलो ११ महिनामा ११.२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.८ प्रतिशतले बढेको हो।
बढ्न थाल्यो कर्जा प्रवाह, धितोमा घरजग्गाकै भर
चालू आवको जेठ मसान्तसम्म कर्जा प्रवाह ५.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँ प्रवाह भएकोमा चालू आवमा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँको कर्जा प्रवाह भएको हो।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ। जसमा ६५.५ प्रतिशत कर्जा गैर–वित्तीय संस्थागत क्षेत्रमा प्रवाह भएको हो। व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश भने ३६.५ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.६ प्रतिशत र ३७.४ प्रतिशत रहेको थियो।
उल्लिखित कर्जामा ६८.५ प्रतिशत सुरक्षण (धितो) घर जग्गा राखिएको छ। भने १२ प्रतिशत कर्जामा धितो कृषि तथा गैर कृषिजन्य वस्तु राखिएको छ। यो अवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह आवधिक कर्जातर्फ छ भने थोरै कृषि कर्जातर्फ छ। यस्तै यो अवधिमा अधिविकर्ष कर्जा ४३.४ प्रतिशतले घट्दा हायर पर्चेज कर्जा २१.२ प्रतिशतले घटेको हो।





